कात्तिक ८
दैलेखको सल्लेरी गाविस वडा नं. ८ सामाटोलका ४१ वर्षीय भीमबहादुर बिक माथि जातीयताकै कारण सांघातिक आक्रमण भएको छ । शुक्रवार साँझ ७ बजेतिर गाउकै आफन्तको घरबाट फर्किने क्रममा बाटोमा पर्ने सोही वडाको गल्फाटोलका दत्तबहादुर बस्नेतको घरमा उज्यालो गराउने दियालो माग्न जाँदा दलित भएर पनि घरको मूलद्वार नाघेको भन्दै हसियाले प्रहार भएको हो । टाउकोमा चोट लागेको र अत्याधिक रगत बगिरहेकै अवस्थामा राति १० बजेतिर मात्र घाइते भीमबहादुर घरमा पुगेको घाइतेकी बहिनी दिलसराले जानकारी दिनु भयो ।
घरमा आई पुगेपछि “उज्यालो माग्न जाँदा दत्तले हसियाले हान्यो” भन्ने बाहेक दाजुले केही बोल्नु भएन दिलसराले भन्नु भयो । चोट लागेदेखि बेहोस अवस्थामा रहेका घाइतेको जिल्ला अस्पताल दैलेखमा आज मात्र उपचार थालिएको र टाउकोको सीडीस्क्यान गर्न नेपालगञ्ज रिफर गरिएको दैलेख अस्पतालका निमित्त प्रमुख डा. सुशील भण्डारीले बताउनु भयो । पीडित परिवारले भने आर्थिक अभावमा उपचार गर्न लैजान सकेका छैनन् ।
दत्तबहादुरकै घर आगनमा रगतले भिजेको कपडा र गुन्द्री समेत पाइएकोले उनले हसिया प्रहार गरेको पुष्टी भएको घाइतेका साला दानबहादुर तिरुवाको तर्क छ । घाइतेको टाउको र मुखैभरी घाउ नै घाउ देखिएबाट हँसियाले नै धेरै पटक हानेको हुन सक्ने दानबहादुरको उपचारमा संलग्न स्वास्थ्यकर्मीको भनाई छ । घाइतेको उपचार र दोषीलाई कार्वाहीको माग राख्दै पीडितका आफन्तहरुले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएका छन् ।