Monday, November 12, 2012

दुईमुखे बाच्छी हेर्न ठूलो घुइँचो


कात्तिक २८

इटहरी, इटहरी ९ का एक किसानको गोठमा पालिएको एक गाईले दुई टाउके बाच्छी जन्म दिएपछि हेर्नेहरूको ठूलो घुइँचो लागेको छ। 

सोमबार बाच्छी जन्मेको हल्ला सुन्नासाथ हेर्नेसँगै पूजा गरेर ढोग्नेको पनि भिड लागेको छ। स्थानीयवासीले गाईले साँच्चिकै लक्ष्मीकै जन्म दिएको भन्दै पैसा चढाएर पूजा गर्न थालेका छन्। गाईले दुइटा टाउको भएको बाच्छा जन्मिएको होहल्ला चल्नासाथ सो टोलबाहेक इटहरी बजारबाट समेत मानिसको जाने क्रम सुरु भएको छ।

इटहरी- ९ भुर्की टोल निवासी जयनारायण आचार्यको गोठमा पालिएको गाईले पहिलो बेतमा नै दुईटाउके बाच्छी जन्माएको हो। दुई टाउको भएको बाच्छी जन्मिँदाखेरि गाईलाई निक्कै सकस परेपछि तत्काल पशु प्राविधिकको सहयोगमा बाछीलाई जन्माउने काम भएको किसान आचार्यले बताए।

लामो समयदेखि व्यावसायिक पशुपालनमा संलग्न आचार्यले यस प्रकारको बाच्छा जन्मिएको पहिलोपल्ट थाहा पाएको बताए। गाई ब्याउन कठिन भएपछि गोठमा बोलाइएका पशु प्राविधिक सन्तोष श्रेष्ठले पेटमा बच्चा विकास हुने क्रममा कोष विभाजित हुँदा यस्तो घटना हुने बताए। "कतिपय अवस्थामा दुई वटा बाछा जन्मन सक्ने भए पनि यस प्रकारको दुईवटा टाउको भएको बाछा जन्मिएको भने मैले पनि पहिलोपल्ट देखेको हुँ " प्राविधिक श्रेष्ठले भने।

व्यावसायिक पशुपालन गर्दै आएका आचार्यको गोठमा अहिले पनि आठ गाई र १३ उन्नत जातका भैँसी छन्। सोमबार ब्याएको गाईको स्वास्थ्य अवस्था भने ठीक रहेको तर बाछी भने अस्वस्थ भएको बताइएको छ। रासस