कात्तिक ३०
नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले काठमाडौँको बाफलस्थित बहिनी शशी शर्माको हातबाट टीका लगाउनुभयो । काँग्रेस वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलले भने जुठो परेकाले यसपालिको दसैँ र तिहारको टीका लगाउनु भएन। देउवाको बुवा र पौडेलको आमा सैवर्ष दिवंगत भएकाले दुवैले टीका छेकिएको हो। नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले झापाको जुँगेखाडीस्थित दिदीको घरमा टीका लगाउनु भयो । उहाँले टीकाको लागि वुधवार नै झापा जानु भएको थियो ।
त्यसैगरी नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले ललितपुरको कुपण्डोलस्थित माइली बहिनी इन्दिरा न्यौपानेको घरमा एक दिदीसहित दुई बहिनीको हातबाट टीका लगाउनुभयो । नेता नेपालसहित उहाँका दुई भाइ विनोद नेपाल र सरोज नेपालले दिदी कालिका भण्डारी र बहिनीहरुद्वय इन्दिरा न्यौपाने र बसुदा पोखरेलको हातबाट कुपण्डोलमा सामूहिक टीका लगाउनु भएको हो।
यस्तै राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यबहादुर थापाले बहिनी मञ्जु थापा, शान्ति सिजापति र सम्झना कार्कीको हातबाट ११ २३ को साइतमा टीका लगाउनुभयो । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशमशेर जबराले बहिनी जयराज्यलक्ष्मी शाहबाट टीका ग्रहण गर्नुभयो। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले बहिनीहरु विमला विष्ट, रीता थापा र बशु कार्कीको हातबाट टीका लगाएका छन्।
यसैबीच राष्ट्रपति रामवरण यादवले भने भाइटिका लगाउनु भएन । सांस्कृतिक कारणले गर्दा राष्ट्रपतिले टीका नलगाएको राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालले जानकारी दिनुभयो । यस्तै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा ( माओवादीका अध्यक्ष मोहन वैद्यले पनि भाइटीका लगाउनु भएन । - रासस