मंसिर २३
नेपाल विद्युत प्राधिकरणलेआजदेखि लागु हुनेगरी लोडसेडिङको समय बढाएको छ । प्राधिकरणले दैनिक ८ घण्टा हुँदै आएको लोडसेडिङ एकै पटक दुई घण्टासम्म बढाइएको हो । आजदेखि दैनिक १० घण्टा लोडसेडिङ गर्ने प्राधिकरणले जनाएको छ ।
नदीहरुमा पानीको जलस्तर घट्न गएको तथा माग र आपूर्तिमा असन्तुलन भएकाले साविकमा हुँदै आइरहेको लोडसेडिङ तालिका परिवर्तन गरिएको प्राधिकरणले बताएको छ । अत्याधिक चुहावट हुने फिडरहरुमा भने दैनिक १ देखि ६ घण्टासम्म थप लोडसेडिङ हुने प्राधिकरणको विज्ञप्तीमा उल्लेख छ ।
प्रधानमन्त्री डा बाबुराम भट्टराईले यसपटकको हिउँदमा १२ घण्टाभन्दा बढी लोडसेडिङ नहुने घोषणा गरे पनि पुष नलाग्दै १० घण्टा पुगिसकेको छ । जलाशयमा पानीको सतह घट्न थालेकोले लोडसेडिङको समय बढाउनुपरेको प्राधिकरणका प्रणाली सञ्चालन विभागका प्रमुख भुवनकुमार क्षेत्रीले बताए ।
प्राधिकरणले यसवर्ष १९ घण्टा लोडसेडिङ हुने प्रक्षपण यसअघि नै गरिसकेको छ । तर प्रधानमन्त्रीले लोडसेडिङ बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराइसकेका थिए । वैकल्पिक उपाय अपनाएर भएपनि लोडसेडिङ घटाउनुपर्ने प्रधानमन्त्रीको भनाइ हो । तर विकल्पको रुपमा भारतबाट विद्युत खरिद गर्ने र थर्मल प्लान्ट बनाउने योजना तत्काल पूरा नहुने विज्ञहरु बताउँछन् ।
यसकारण लोडसेडिङ १२ घण्टामा सीमित नहुने पक्का छ । हिउँदमा १२ घण्टा सीमित गर्ने घोषणा भए पनि अझै बढ्ने प्राधिकरणका प्रणाली सञ्चालन विभाग प्रमुख क्षेत्रीले बताए ।