Wednesday, June 12, 2013

‘अप्रिल फुल’

असार ७ गते प्रदर्शनमा आउन लागेको चलचित्र ‘अप्रिल फुल’को निर्माणपक्षले काठमाण्डौमा पत्रकार सम्मेलनको आयोजना गरी सिनेमाको बारेमा जानकारी दिएको छ । 

कार्यक्रममा बोल्दै चलचित्रका कार्यकारी निर्माता विनोद लामिछानेले ‘अपि्रल फुल’ भित्र सेक्स नरहेको दाबी गरे । यस्तै निर्देशक भद्र भुजेलले चलचित्रको कथा राम्रो रहेकाले चल्ने विश्वास गरेका थिए । तर चलचित्रको प्रोमो हेर्दा भने दर्शकलाई सिनेमाले नग्नता बेच्न खोजेको भान हुन्छ ।

भद्र भुजेलको निर्देशनमा तयार भएको यो चलचित्रमा सुमिना घिमिरे, कुमार लामिछाने, विनोद न्यौपाने, मनोज लामिछाने, महिमा सिलवाल, किरण न्यौपाने, देशभक्त खनाल लगायतका कलाकारले अभिनय गरेका छन् । कार्यक्रममा चलचित्र निर्माता संघका महासचिव केशव भट्टराइले एकैसाथ सिनेमा प्रदर्शन गर्न भन्दा पनि थोरै थोरै स्टेशनमा प्रदर्शन गर्न सुझाव दिए । कार्यक्रममा चलचित्र पत्रकार संघका महासचिव लक्ष्मण सुवेदी, चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डीसी, चलचित्र संघका महासचिव प्रदिप उदय, चलचित्र प्राविधिक संघका अध्यक्ष मनोज केसीले शुभकामना दिएका थिए ।

अप्रिल फूलको दिन गरिने सानो रमाइलोले निम्त्याउने ठूलो घटनालाई चलचित्रले देखाउन खोजेको छ । कार्यक्रममा चलचित्रको प्रोमो र एउटा गीत पनि सार्वजनिक गरिएको थियो ।