ठूलो आन्द्रामा घाउ भएर विरामी परेका राष्ट्रपति डा। रामवरण यादवलाई उपचारको लागि आज सोमबार जापान लगिने भएको छ । राष्ट्रपति यादवलाई भोलि थाइ एयरको विमानमार्फत दिउँसो १ बजेर ५० मिनेटको उडनबाट जापान लगिने छ । उनलाई लैजानको लागि सबै कागजी प्रक्रिया पूरा गरिएको स्रोतले जनाएको छ ।
राष्ट्रपति यादवलाई आइतबार नै उपचारको लागि लैजाने तयारी गरिएपनि अस्पताल भर्ना गर्ने समय निश्चित नभएपछि भोलि मात्रै लैजान लागिएको हो ।
स्रोतले भन्यो –“सबै प्रक्रिया पूरा भयो, भोलि थाइ एयरको विमानबाट यादवसहितको टोली जापान प्रस्थान गर्नेछ ।” राष्ट्रपति यादवसँग उनका छोरा चन्द्रमोहन, छोरी अनिता, निजी चिकित्सक यादव भट्ट, सल्लाहकार सूर्य ढुङ्गेल, सुरक्षाकर्मी गरी आठ जनाको टोली जापान जानेछ ।
राष्ट्रपतिका प्रेस सल्लाहकार राजेन्द्र दाहालका अनुसार राष्ट्रपतिको अवस्था असामान्य छैन । राष्ट्रपति यादवले आफ्नो नियमित कामकारबाही गरिरहेको दाहालको भनाई छ ।
राष्ट्रपति यादवले शनिवार राजधानीको धापासी स्थित ग्रान्डी इन्टरनेशनल अस्पतालमा सिटी स्क्यान गराए पछि डाक्टरहरुले आन्द्राको घाउको वास्तविकता बारे टुंगोमा पुग्दै थप उपचारका लागि बिदेश लान सिफारिस गरेका थिए । डाक्टरहरुको सुझाव अमेरिका, बेलायत वा जापान मध्ये कुनै एक देश लैजान थियो ।
सुझाव पछि राष्ट्रपतिसहित उनका सहयोगी र सल्लाहकारहरुको छलफलले पहिला सिंगापुर लाने त्यो भन्दा पनि टाढा जाने हो भने जापान जाने निश्कर्ष निकालेको हो । राष्ट्रपति यादवको उपचारमा अहिले डा। शशि शर्मा नेतृत्वको टिम संलग्न छ ।
राष्ट्रपति यादवको पारिवारिक स्रोतका अनुसार उनको पेटमा देखिएको घाउ समान्य हो तर उमेरको हिसाबले गम्भिर प्रकृतिको हुन सक्ने डाक्टरहरुको भनाई छ । । “भारत भ्रमणमा जाँदा र नेपालमा पनि पटक पटक स्वास्थ्य परिक्षण गरेकै हो तर अहिले आएर यो सामान्य मात्रै होइन भन्ने निश्कर्ष डाक्टरहरुले निकाल्नु भयो” परिवारका एक सदस्यले ओएनएससँग भने । यादवले शुक्रबार टिचिङ अस्पतालमा एमआरआई गर्दा ठूलो आन्द्रामा गिर्खो भेला परे पनि शनिबार ग्रान्डिमा लगि परीक्षण गरिएको हो ।
कतिपय चिकित्सकहरुका अनुसार यादवको जस्तो समस्या भएका मध्ये केही विरामीलाई क्यान्सरसम्म हुन सक्छ । तर बायोप्सी गरेपछि मात्र पहिचान गर्न सकिने उनीहरुको भनाई छ ।
राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्ने
सरकारले राष्ट्रपति डा। रामवरण यादवको सम्पूर्ण उपचार खर्च व्यहोर्ने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले आन्द्रामा घाउ भएर जापान लैजाने तयारी गरिएका राष्ट्रपति यादवको उपचार खर्च व्यहोर्ने निर्ण गरेको हो ।
सरकारले मेडिकल वोर्डको सिफारिस अनुसार सरकारले खर्च व्यहोर्ने निर्णय गरेको सूचना तथा सञ्चारमन्त्री माधवप्रसाद पौडेलले जानकारी दिए ।