Friday, June 21, 2013

विद्यालयस्तरीय विशेष खेलकुद सम्पन्न, श्यामलाई दुई स्वर्ण

लेबोरेटरी उमावि, कीर्तिपुरका श्यामलाल ढुंगानाले १८ औं विद्यालयस्तरीय राष्ट्रिय विशेष खेलकुद प्रतियोगिताको अन्तिम दिन शुक्रबार दुई स्वर्ण जितेका छन् । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा श्यामले १४ वर्षमुनि आंशिक दृष्टिविहीनतर्फ छात्र लङजम्प र सटपुटमा स्वर्ण जिते ।  लङजम्पमा आदर्श उमावि, भक्तपुरका सुशील थापा मगर दोश्रो र नारायणी उमावि, चितवनका सिद्धान्त न्यौपाने तेश्रो भए ।
सटपुटमा अमरसिंह उमाविका जीवन गुरुङ दोश्रो र नारायणीका सिद्धान्त न्यौपाने तेश्रो भए । राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगिताको सुस्त श्रवणतर्फ छात्राको ४ सय मिटर दौडमा सिर्जना उमावि, पोखराकी रमाकुमारी आचार्य पहिलो, केन्द्रीय बहिरा उमावि, काठमाडौंकी रिंकीकुमारी महतो दोश्रो र सिर्जनाकी डासीमाया खनाल तेश्रो भए ।
पूर्णदृष्टिविहीनको छात्रा लङजम्पमा शिखर उमावि, सुर्खेतकी धना दर्लामी प्रथम, अमरसिंहकी रिता थापा दोश्रो र नेराउकी रुपमती राय तेश्रो बने । बहिराको ४ सय मिटर दौड छात्रमा बहिरा बालक उमावि, भैरहवाका दयानारायण चौधरीले स्वर्ण, केन्द्रीय विद्यालयका अजय कर्णले रजत र काभ्रे बहिरा विद्यालय, बनेपाका गोविन्द प्रधानले कांस्य हात पारे । आंशिक दृष्टिविहीनको छात्रा लङजम्पमा मंगलप्रसाद उमावि, बाँकेकी साना चौधरी पहिलो, पञ्चोदय उमाविकी सुनिता चौधरी दोश्रो तथा अमरसिंहकी हिता गुरुङ तेश्रो भए ।
पूर्णदृष्टिविहीनको छात्र सटपुटमा अमरसिंहका आशिष खड्गी पहिलो, पूर्वाञ्चल ज्ञान चक्षुका अमरदीप राई दोश्रो र पूर्वाञ्चलकै उमेश धिमाल तेश्रो स्थानमा रहे । दुईदिने प्रतियोगिताअन्तर्गत दृष्टिविहीनमा ९३, शारीरिक अपाङ्गमा १ सय ७ र बहिरातर्फ १ सय २ गरी कूल ३ सय २ खेलाडीले प्रतिस्पर्धा गरेको आयोजक समितिका सदस्य एवं जनसम्पर्क अधिकृत मीनकुमार शर्माले जनाएका छन् ।