Tuesday, October 23, 2012

दशैंमा कलाकार ब्यस्त


कात्तिक १
गायक पशुपति शर्मालाई स्टेज कार्यक्रममा भ्याइनभ्याइ छ । ‘स्याङ्जा, पाल्पा र पोखराको कार्यक्रम सकेर बागलुङ आइपुगेको छु, दशैं अघि नै यूके जाने कार्यक्रम छ, ६र७ गते उड्छौ होला, यसपालीको दशैं विदेशमा नै मान्छौ ’ उहाँले टेलिफोनमा भन्नुभयो । धेरैका लागि दशैं खर्च गर्ने चाड भएपनि कतिपय कलाकारका लागि कमाउने चाड पनि हो । गायक तथा राष्ट्रिय लोक दोहोरी गीत प्रतिष्ठानका अध्यक्ष पुरुषोत्तम न्यौपाने पनि अहिले गीत गाउन बिभिन्न जिल्ला डुल्दै हुनुहुन्छ । उहाँले भन्नुभयो ‘प्युठानको विजुवारमा छु, दशैंको विशेषको सांस्कृतिक कार्यक्रममा सहभागी हुँदै मेरो यसपालीको दशै आफ्नै जन्मजिल्ला स्याङ्जाको बलम बेल्टारीमा मनाउने निधो गरेको छु ।’ पछिल्लो समयमा दशैमा आधारित गीत थोरै मात्रै रेकर्ड हुन थालेका छन् । गीत संगीतको बजार ओरालो लागेपछि दशैं तिहारका गीत गाउन छोड्ने क्रम बढेको छ । तर पनि कलाकारलाई भने मेला महोत्सव र अरु स्टेज कार्यक्रमले भ्याइ नभ्याइ नै छ । गायक खुमन अधिकारी विदेशको कार्यक्रम समेत छोडेर देशभित्रै हुने बिभिन्न कार्यक्रममा गीत गाउदै हिड्नुभएको छ । ‘म पाल्पाको रामपुर भन्ने ठाउँमा कार्यक्रममा छु, पोहोर परार भन्दा यसपाली धेरै कार्यक्रम गरेको छु’ उहाँले भन्नुभयो ‘विदेशको कार्यक्रम पनि दशैंको ब्यस्तताले क्यान्सिल गरेँ, नेपालकै कार्यक्रममा अत्याधिक ब्यस्त छु ।’ मान्यजनको हातबाट टीका लगाएर आशिष लिने चाडका रुपमा चिनिने दशै धेरैका लागि हर्ष उल्लासको चाड हो । तर बिदा नपाउने र तलव नपाउनेहरुका लागि दशैं दशैं जस्तो हुन्न । घर नजिकै हुनेहरु र कामबाट छुट्टी मिल्नेहरु त दशैंमा घर फर्किन्छन् र परिवारमा उल्लास छाउँछ तर टाढा हुने वा काम छोड्न नमिल्नेहरुले भनें त्यो अवसर पाउँदैनन् । दशैं कसरी मनाउने भन्ने सवैका आ आफ्नै योजना र तर्क हुन्छन् । गायक जीवन शर्मा चाँही यसलाई सादा रुपमा मनाउनुपर्ने धारणा राख्नुहुन्छ । ‘हामीले त्यति ठूलो तडकभडकको रुपमा पनि लिनु हुदैन, सबैको लागि सामाजिक भेटघाट र सद्भावको रुपमा लिनुपर्छ ।’ तर दशैंका गीतमा बिरह, वेदना र दुःखका कुरा मात्रै छैनन् । घर फर्कने, रमाइलो गर्ने खालका गीत पनि उत्तिकै छन् । गायक खुमन अधिकारीले गीतले त्यस्तै कुरा ब्यक्त गर्छ । ‘कति साहै्र देख्न मन लाको छ, नजिक नजिक चाडपर्व आको छ, तिम्लाई सम्झी पक्कै रुने थि’न, भेट्न पाए अहिलेको दशैंमा म जति खुशी कोही नि हुने थे’न ।’ विदेशमा पनि उत्तिकै दशैंको बेलामा कतिपय लोक गायक गायिकाहरुसंगै चलचित्रका हिरो हिरोइन, आधुनिक र पप गायक गायिका र हास्य टेलिश्रृङ्खलाका कलाकारहरु विदेशमा ब्यस्त छन् । सुपरस्टार राजेश हमाल अमेरिकामा छन् भने गायिका इन्दिरा जोशी अष्ट्रेलियाको कार्यक्रम सकेर घर फर्केकी छन् । शिव परियार अष्ट्रेलियामा छन् । विदेशमा बस्ने नेपालीहरुले आयोजना गर्ने बिभिन्न कार्यक्रममा सहभागी हुन धेरै कलाकारलाई दशैं र ठूला चाडबाडमा भ्याइ नभ्याइ हुन्छ । कलाकार किरण केसी र शिवहरि पौडेल दशै अघि नै युरोपका १२ देशमा हुने कार्यक्रमका लागि गएका छन् । हास्य टेलिश्रृङ्खला मेरी बास्सैका धुर्मुस र सुन्तली ९सीताराम कट्टेल र कुञ्जना घिमिरे० पनि बेलायत जाँदैछन् । नायिका रेजिना उप्रेती र गायिका निशा सुनार दशैंकै बेला पारेर लण्डन पुगेका छन् ।