Tuesday, October 9, 2012
तीन विद्यार्थीका लागि चार शिक्षक
असोज,२३
सल्यानको एक विद्यालयमा शिक्षकभन्दा विद्यार्थी थोरै रहेका छन् । कालिमाटी रामपुर-८ मा रहेको एक प्राथमिक विद्यालयमा तीन जना विद्यार्थीलाई पढाउनका लागि चार जना शिक्षक कार्यरत रहँदै आएका छन् । सो विद्यालयमा दुई वर्षदेखि तीन जना विद्यार्थीले अध्ययन गरिरहेका छन् ।
सोही विद्यालयमा शिशु कक्षासमेत सञ्चालनमा छ । तर शिशु कक्षामा पनि अहिले एक जना बालबालिका छैनन् । टोट्केमा बसोवास गर्दै आएका मानिस बसाइसराइ गरेर अन्यत्रै गएपछि विद्यालयमा विद्यार्थीको सङ्ख्या हृवात्तै घटेको बताइएको छ । ‘दुई वर्षअघि विद्यालयमा १५० जना विद्यार्थी थिए, अभिभावक बसाइसराइ गरेर सोही गाविसकै कालिमाटी तथा जिल्ला बाहिर जान थालेपछि बस्ती नै शून्य भएको र विद्यार्थीको सङ्ख्या घटेको हो,” प्रधानाध्यापक भानुभक्त वलीले जानकारी दिनुभयो ।
जिल्लाको पश्चिमी क्षेत्रमा रहेको टोट्के विकट बस्ती भएकाले त्यहाँका स्थानीयवासीले सुविधायुक्त स्थानको खोजी गर्न थालेपछि बसाइसराइ तीव्र भइरहेको छ । “बस्ती नै खाली भएपछि हामी त विद्यालय कुरेर बसेको जस्तै भएको छ,” प्रधानाध्यापक वलीले भन्नुभयो । विद्यालयमा विद्यार्थीको सङ्ख्या हृवात्तै घटेपछि जिल्ला शिक्षा कार्यालय सल्यानले नजिकैको विद्यालयमा सो विद्यालयलाई गाभ्ने तयारी गरेको छ । जिल्ला शिक्षा अधिकारी बालकृष्ण गैरेले विद्यार्थी कम भएका धेरै विद्यालयलाई नजिकैको अर्को विद्यालयमा गाभ्ने तयारी भइरहेको बताउनुभयो ।
जिल्लामा रहेका विद्यालयमा शिक्षक तथा विद्यार्थीको सङ्ख्या नमिलेकाले प्रतिशिक्षक ४५ जनाभन्दा कम विद्यार्थी भएका विद्यालयमा शिक्षक दरबन्दी मिलान गर्न लागिएको जिल्ला शिक्षा अधिकारी गैरेले जानकारी दिनुभयो । रासस