Saturday, February 2, 2013

एमाओवादीको सातौं महाधिवेशन

एकीकृत नेकपा माओवादीको एकताको सातौं राष्ट्रिय महाधिवेशन सुरु भएको छ । मकवानपुरको हेटौंडामा रहेको हुप्रचौरमा सुरु भएको महाधिवेशनको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सात वटा पानसमा बत्ती बालेर उदघाटन गरेका छन् ।
 
दिउँसो १ वजे सुरु हुने भनिएको महाधिवेशन एक घण्टा ढिलो गरि सुरु भएको छ । उदघाटन सभामा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष डा बाबुराम भट्टराई, अर्का उपाध्यक्ष नारायणकाजी श्रेष्ठलगायत शीर्ष नेता सहभागी छन् ।
 
सचिव पोष्टबहादुर बोगटीले कार्यक्रम सञ्चालन गरिरहेका छन् । उदघाटनसभामा महाधिवेशनको शुभकामना दिनका लागि नेपाली कांग्रेसका उपसभापति रामचन्द्र पौडेल, नेकपा एमाले उपाध्यक्ष बामदेव गौतम, राप्रपाका अध्यक्ष पशुपति शम्शेर राणा, राजपा अध्यक्ष सूर्यबहादुर थापालथायतका नेताहरु सहभागी छन् । 
 
एमाले अध्यक्ष झलनाथ खनाल विपक्षीदलहरुले विराटनगरमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न गएकोले महाधिवेशनमा उपाध्यक्ष गौतम आएका हुन् ।
 
स्वागत मन्तव्य राख्दै उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सातौं महाधिवेशनले पार्टीको मात्र नभइ सिंगो मलुकको निकास, विकास र नेपाली समाजको आमुल परिवर्तनसँग महत्व राख्ने बताएका छन् ।
 
जनताको अधिकारलाई सुनिश्चित गर्नुका साथै लोकतन्त्र र न्यायको पक्षमा समेत महाधिवेशनले उचित कार्यनीती पारित गर्ने उपाध्यक्ष श्रेष्ठको भनाइ छ ।
 
संक्रमणकाललाई छिटो भन्दा छिटो निष्कर्षमा पु¥याउनको लागि आफूहरु लागेको जानकारी दिदै श्रेष्ठले महाधिवेशनसँगै मुलुकले उचित निकास पाउने पनि दावी गरेका छन् । 
 
माओवादी कार्यकर्ताले हेटौडाका विभिन्न ठाउँबाट निकालेको जुलुस महाधिबेशन स्थलमा पुगेपछि उद्घाटन समारोहमा परिणत भएको थियो । महाधिवेशनस्थल आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ ।
 
प्रहरीले मध्यमाञ्चलको पुरै सुरक्षा फोर्सलाई महाधिवेशनको सुरक्षामा परिचालन गरेको जनाएको छ । अत्यावश्यक बाहेकका अरु करिब ५ हजार सुरक्षाफौज परिचालन गरिसकिएको प्रहरीले जनाएको छ ।
 
एमाओवादीले आन्तरिक एवं बाह्य सुरक्षाका लागि ४ वटा घेरामा ११ हजार वाइसीएल खटाएको जनाएको छ ।
 
महाधिवेशनको आन्तरिक कमाण्ड पूर्वलडाकू कमाण्डर नन्दकिशोर पुन (पासाङ) ले सम्हालेका छन् भने भने बाहिरी कमाण्ड वाइसीएल अध्यक्ष गणेशमान पुनले सम्हालेका छन् ।
 
२०४८ सालमा चितवनको माडीमा भएको छैटौं महाधिवेशनपछि पटक पटक तय भएको महाधिवेशन हुन सकेको थिएन ।