Friday, June 21, 2013

सशस्त्र प्रहरीमा ३२ सय दरबन्दी थप

सरकारले सशस्त्र प्रहरी बलमा ३ हजार २ सय ४३ जना दरबन्दी थप्न निर्णय गरेको छ ।
शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सीमा सुरक्षाका लागि सशस्त्र प्रहरीमा दरबन्दी थप गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सूचना तथा सञ्चारमन्त्री माधवप्रासद पौडेलले जानकारी दिनुभयो ।
त्यस्तै सरकारले ६ जना सचिवको सरुवा पनि गरेको छ । विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव केशवप्रसाद भट्राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सुदुरपश्चिमका क्षेत्रीय प्रशासक आत्मराम पाण्डेलाई रक्षा मन्त्रालयमा, सोमलाल सुवेदीलाई शिक्षाबाट विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयमा, नारायणगोपाल मलेगोलाई निर्वाचन आयोगबाट शिक्षा मन्त्रालयमा सरुवा गरिएको हो ।

त्यस्तै सचिव नरेन्द्र दाहाललाई महालेखा नियन्त्रकको कार्यालयबाट शिक्षा मन्त्रालय, मध्यमाञ्चल क्षेत्रीय प्रशासक उद्धव बाँस्कोटालाई महालेखा नियन्त्रकको कार्यालयमा सुरुवा गरिएको छ ।
सुदुरपश्चिम क्षेत्रीय प्रशासक पाण्डेले भने बाढीपहिरोबाट भएको क्षतिको राहतको काम सकेर मात्रै रक्षामन्त्रालय आउने सञ्चारमन्त्री पौडेलको भनाई छ । त्यस्तै बालकल्याण समितिको कार्यकारी निर्देशकका गोरखाका तारक धितालाई नियुक्ति गरिएको छ ।
दैवीप्रकोप उद्दार कोषमा १० करोड
सरकारले केन्द्रीय दैवी प्रकोप उद्दार कोष ५ करोडबाट बढाएर १० करोड रुपैयाँ छुट्याउने निर्णय गरेको छ । दार्चुला जिल्लामा बाढी पहिरोले पु¥याएको क्षतिको मुल्याङ्कन गर्दै सडक, तटबन्ध, खानेपानी, भौतिक संरचना निर्माणका लागि ५० करोड रुपैयाँ निकासा गर्ने निर्णय गरेको छ ।
रकम सडक खुलाउन, नदी कटान रोक्न, दीर्घकालीन कटान रोक्न, बस्ती बसाल्न र नयाँ गुरु योजना बनाउन खर्च गरिने मन्त्री पौडेलले जानकारी दिनुभयो ।
दार्चुला, डडेल्धुरा, अछाम, हुम्ला, कालिकोट, वैतडी, कैलाली, बर्दिया लगायत अन्य क्षेत्रमा कर्णाली र महाकाली नदीले पुर्‍याएको क्षति र नवलपरासीमा बाढीले पुर्‍याएको क्षतिको मुल्याङकन गर्न सरकारले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।
त्यस्तै दार्चुला, बैतडी, कैलाली, कञ्चनपुर, बर्दिय डडेल्धुरा क्षेत्रमा कर्णाली र महाकाली नदी कटान रोक्न आगामी आर्थिक बर्षका लागि कार्यक्रम पेश गर्न सम्बन्धित मन्त्रालयलाई निर्देशन दिदै अर्थ मन्त्रालयले आवश्यक रकम छुट्याउने व्यवस्था गरिएको सञ्चारमन्त्री पौडेलले जानकारी दिनुभयो ।