Thursday, June 13, 2013

एमाओवादी केन्द्रीय समिति बैठक जारी

एकीकृत नेकपा माओवादी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि छलफल चलिरहेको छ । आज पनि अध्यक्ष प्रचण्डले पेस गरेको प्रतिवेदन सहितका अरु प्रतिवेदनमा पनि छलफल जारी रहनेछ ।

सदस्यहरुले बैटकमा नेतृत्वको आलोचना गरेका छन् । बिहान ११ बजेपछि बस्ने बैठकमा विभिन्न केन्द्रीय समितिमा प्रस्तुत भएका विभिन्न ४ ओटा प्रतिवेदनको बारेमा छलफल हुने प्रवक्ता अथ्निप्रसाद सापकोटाले बताए ।

प्रतिवेदनमाथिको छलफल सकिएपछि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यसुची छ । हिजोको बैठकमा बोल्ने अधिकांश नेताहरुले पार्टी पछिल्लो समग भद्रगोल हुँदै गएको बताएका छन् । उनीहरुले शान्तिप्रक्रियामा प्रवेश गरेदेखि पार्टी चुस्त दुरुस्त बन्न नसकेको बताए ।



पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको केन्द्रीय समितिको बैठकमा बोल्दै उनीहरुले पार्टीलाई राम्रो दिशामा अगाडि बढाउन विशेष कार्ययोजनाको खाँचो पनि औँल्याए । पार्टीको स्थिती र संरचनाको वर्तमान अवस्थाले संविधानसभा निर्वाचनमा विजयी हुनेमा शंका उत्पन्न भएको उनीहरुको भनाई थियो ।

प्रस्तावमाथि धारणा राख्दै नेताहरु लिलामणि पोखरेल, लोकेन्द्र विष्ट, डिलाराम आचार्य, नवराज सुवेदी, विश्वभक्त दुलाल, हरिबोल गजुरेल, नारायण दाहाल, अग्निप्रसाद सापकोटा, चित्रबहादुर श्रेष्ठ, राम कार्की, गणेशमान पुन, एनके प्रसाइ लगायतका नेताले पार्टीको वर्तमान अवस्थाप्रति चिन्ता जनाएका थिए ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रस्तुत गरेको उत्पादन, निर्माण तथा व्यवस्थापनसम्वन्धी पार्टीको योजना, सङ्गठन विभाग प्रमुख कृष्णबहादुर महराले प्रस्तुत गरेको पार्टीको सांगठनिक कार्ययोजना, नेता टोपबहादुर रायमाझीले प्रस्तुत गरेको जनयुद्धकालीन मुद्वा र पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव हितराज पाण्डेले प्रस्तुत गरेको पार्टी केन्द्रीय समिति सदस्यहरुको विवरणसम्बन्धी प्रस्तावमाथि छलफल भएको प्रवक्ता  सापकोटाले जानकारी दिए ।

यही जेठ २६ गते सुरु भएको बैठकमा हेटौंडा महाधिवेशनले पारित गरेको राजनीतिक प्रतिवेदन, पार्टीको स्थायी समिति, पोलिटव्यूरो तथा विभिन्न विभाग गठन गर्ने कार्ययोजना समेत रहेको एमाओवादीले जनाएको छ ।