Sunday, July 14, 2013

५ खर्ब १७ अर्ब २४ करोडको बजेट, चुनाव खर्च १६ अर्ब

सरकारले आर्थिक वर्ष २०७०–७१ का लागि ५ खर्ब १७ अर्ब २४ करोड बराबरको बजेट विनियोजन गरेको छ । अर्थमन्त्री शंकरप्रसाद कोइरालले आइतबार अबेर साँझ अध्यादेश मार्फत बजेट सार्वजनिक गरेका हुन् । सरकारले मंसिर ४ मा गर्ने भनिएको निर्वाचनका लागि १६ अर्ब रुपैयाँ विनियोजन गरेको छ । विगतमा जस्तै यसपटक पनि बजेटको अधिकांश भाग प्रशासनिक खर्चले ओगटेको छ ।

कुल विनियोजित रकम मध्ये ६८.३३ प्रतिशत प्रशासनिक खर्च, १६.४५ प्रतिशत पुँजीगत खर्च र बाँकी १५.२२ प्रतिशत वित्तिय व्यवस्थाका लागि छुट्याइएको छ ।
सरकारले बजेटका लागि तीन खर्ब ५४ अर्ब ५० करोड राजश्वबाट संकलन गर्ने लक्ष्य राखेको छ । सावाँ फिर्ता बापत ५ अर्ब ५० करोड र वैदेशिक अनुदानबाट ६९ अर्ब ५४ करोड लिने लक्ष्य राखेको छ ।

बाँकी नपुग रकम मध्ये वैदेशिक ऋणबाट ४३ अर्ब ७० करोड र ४४ अर्ब आन्तरिक ऋण उठाइने अर्थमन्त्री कोइरालाले बताए ।

सरकारले आर्थिक विकासमा यो बजेट महत्वपूर्ण हुने बताए । उनले आउँदो वर्ष ५.५ प्रतिशतको आर्थिक वृद्धि हुने सरकारको अपेक्षा रहेको बताए । त्यस्तै झण्डै दुई अंकमा रहेको महंगीलाई आठ प्रतिशतमा सिमित गर्ने बताए ।

त्यस्तै अन्तिम सम्म द्विविधामा रहेपनि सरकारले कर्मचारीको तलबमा १८ प्रतिशत सम्मले वृद्धि गरेको जनाएको छ ।