Sunday, July 14, 2013

मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन

फोटोसहितको मतदाता नामावली सङ्कलनको लागि निर्वाचन आयोगले दिएको समयासीमा सोमबार सकिँदैछ ।

आज अन्तिम दिन भएकोले नाम दर्ता गराउनको लागि देशभरका जिल्ला निर्वाचन आयोगका कार्यालयहरुमा भीड छ । आयोगका अनुसार अहिलेसम्म झण्डै एक करोड २० लाखभन्दा बढीले नाम दर्ता गराएका छन् । यो अघिल्लो संविधानसभाको चुनावको भन्दा धेरै कम हो ।


आगामी मंसिर ४ गतेको लागि तय गरिएको संविधानसभा चुनावको लागि आयोगले नामावली दर्ता गर्ने काम जारी राखेको हो । यसअगाडि आयोगले गाउँ गाउँमै गएर नाम दर्ता गराएको थियो ।

फोटोसहितको मतदाता नामावली दर्ता गर्नको लागि नागरिकहरु बाँकी नै रहेको भएपनि आयोगले म्याद नथप्ने जनाएको छ । निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले नामावली दर्ता गर्ने समय थप्ने बारेमा आयोगमा कुनै छलफल नभएको बताए ।