Tuesday, July 16, 2013

बजेट कार्यन्वयनका लागि अर्थमन्त्रीको सचिवहरुलाई निर्देशन

अर्थमन्त्री शंकरप्रसाद कोइरालाले प्राथमिकताको नम्बर एकमा परेका कार्यक्रमहरु साउन दोस्रो हप्ताभित्र राष्ट्रिय योजना आयोगबाट स्वीकृत गराउन सवै मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७०–७१ बजेटको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयका सचिवहरुलाई निर्देशन दिँदै मन्त्री कोइरालाले दुई र तीनका प्राथमिकता योजना एक हप्ताभित्र स्वीकृत गर्न आग्रह गरे ।


यसका लागि योजना आयोगमा दर्ता भएको तीन दिनभित्र प्रक्रियागत कारवाही टुंगो लगाउने व्यवस्था मिलाइएको जानकारी दिंदै मन्त्री कोइरालाले काम भए नभएको अर्थ मन्त्रालयले अनुगमन गर्ने बताए ।

“हरेक वर्ष पूँजीगत खर्च वृद्धि ठूलो चुनौतीका रुपमा देखिएको छ, यसपटक समयमै खर्च होस् र गुणात्मक काम होस् भन्नका लागि वैशाख महिनापछि कार्यक्रम संशोधन गर्न नपाइने व्यवस्था मिलाइएको छ ।” मन्त्री कोइरालाले भने, “अनुगमनको प्रभावकारी व्यवस्था मिलाउनु होला । अनुगमनको नतिजाका आधारमा निकासा भुक्तानीको व्यवस्था मिलाइएको छ ।”

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. रविन्द्रकुमार शाक्यले कागजमा सुन्दर योजना बनाउने तर कार्यान्वयनमा असफल हुने आलोचनाबाट बच्न सतर्क हुनुपर्ने बताए । उनले यसका लागि नियमनकारी निकायको अनुगमनलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

अर्थ सचिव शान्तराज सुवेदीले ऐन कानुनमा रहेर पारदर्शी ढंगमा विकास आयोजना अघि बढाउन मन्त्रालयहरुलाई आग्रह गरे ।

सवारी साधन किन्न अर्थ मन्त्रालयको स्वीकृत चाहिने यसअघिको कानुनलाई संशोधन गरी २० लाखसम्मको गाडी किन्न सम्बन्धित मन्त्रालयलाईनै अख्तियारी दिएको बताए ।